Section 3
नियोगको घर र हाताको अनतिक्रम्यता

(१) नियोगको घर र हाता अनतिक्रम्य हुनेछ । नियोग प्रमुखको अनुमति बेगर नेपाल सरकारको कर्मचारी वा प्रतिनिधिले सो भित्र प्रवेश गर्न हुँदैन ।

(२) नियोगको घर हाताको अतिक्रमण वा क्षति हुने वा शान्ति वा मर्यादा भङ्ग हुने कुनै काम कारवाहीबाट रक्षा गर्न उपयुक्त कदम चाल्नु नेपाल सरकारको कर्तव्य हुनेछ ।

(३) नियोगको घर र हाता र त्यस्मा रहेको धन माल तथा नियोगको सवारीको खानतलासी, अधिग्रहण, जफती, तायदाती वा लिलाम बिक्री गरिने छैन ।